Light Nepal

अञ्चल अस्पतालले नापीलाई पत्र काट्दै भन्यो–“जग्गा हरायो, खोजी देउ”

बुटवल, २६ माघ । १ सय बर्ष पुरानो बुटवलको लुम्बिनी अञ्चल अस्पताल गुरुयोजना अनुसार पुर्वधारको विकास नहुने भएको छ । उपक्षेत्रिय अस्पतालमा स्तरोन्नति गरिएको अस्पताललाई ३ सय बेडेको सुविधा सम्पन्न बनाउनका लागि अस्पतालले गुरुयोजना अगाडि सारेको थियो ।

उपक्षेत्रीय अस्पतालमा स्तरोन्नति गरिएको लुम्बिनी अञ्चल अस्पताललाई ३ सय बेडको सुविधायुक्त बनाउन जग्गा अभाव भएको छ । गुमेको जग्गा खोज्न र नयाँ व्यवस्थापन गर्न नसक्दा गुरुयोजना अनुसार पूर्वाधार निर्माणमा समस्या परेको अस्पतालले बताएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डन डा. कृष्ण प्रसाद खनालले अस्पतालको स्तरबृद्धिका लागि जग्गा नहुँदा समस्या भएको बताए । “गुरु योजना अनुसार बाहेक पनि पुर्वधार विकास गर्न ग्राहो छ, जग्गा हराएकै हो” उनले भने ।

अस्पतालले भएको जग्गा हराउँदा पुर्वधार निर्माणमा समस्या परेको उनको भनाई छ । अस्पतालले जग्गा खोजिदिन माघ २५ गते नापी कार्यालय बुटवललाई पत्र काटेको छ । जग्गाधनी लालपुर्जामा भएको जग्गा हराएको भन्दै खोजीदिन अस्पतालले नापी कार्यालयका पत्र काटेको हो ।

२०५१ को धनीपुर्जामा अस्पतालको जग्गा ८ बिघा ४ कट्ठा साढे ९ धुर कायम छ । नापी कार्यालयले भने अस्पतालका नाममा जम्मा ६ बिघा ७ कट्ठा साढे १२ धुर मात्र देखाएको छ । बुटवलको केन्द्र भागमा रहेको झन्डै डेढ बिघा जग्गा गायब छ । अस्पतालका सिभिल सव ईन्जिनियर सुनिल खत्रीले अस्पतालको जग्गा हराएकाले नापी कार्यालयलाई जग्गा खोजिदिन पत्र काटेको बताए । गुरुयोजना अनुसार पुर्वधार निर्माणको काम गर्न अप्ठयारो परेकाले गुमेको जग्गा पत्ता लगाईदिन पत्र काटिएको उनले बताए ।

पुर्व–पश्चिम महेन्द्र राजमार्ग संग जोडिएको अस्पताल मुख्य राजमार्गकै कारण जग्गा कटौटि भएको छ । त्यस संगै भर्खर मात्र पुरानो बसपार्क देखि योगिकुटी सम्म भित्री सडक ८२ फुट कायम गर्ने भनि रेखाकंन गर्दा अस्पतालको जग्गा १४ फुट समेत जानेछ । “अहिले करिव डेढ विघा जग्गा हराएको छ, भित्री सडक बनाउदा थप जग्गा जाने देखिएको छ” खत्रीले भने । अहिले अस्पतालमा दैनिक हजार विरामी आउने गरेकोमा अस्पताल साघुरो बन्दै गइरहेको छ । यता प्रदेशको राजधानी समेत बुटवल भइसकेकाले अहिलेको स्थितीमा विरामी थेग्न अस्पतालले पुर्वधार विकास नगर्दा सम्म सक्ने स्थिती पनि रहेको छैन ।

६ बेडबाट सुरु भएको अस्पतालले २०१६ मा निर्माण गरेको भवनमा जोखिमपूर्ण उपचार गरिरहेको छ । शव गृह पछाडिको त्यस आसपासका बासिन्दाले मिचेर घर बनाउँदै र सडक सञ्जाल बढदै जाँदा जग्गा घटदै गएको हो । जग्गा कब्जा हुँदै गए पनि सोधखोज र संरक्षणमा चासो नदिँदा निरन्तर अतिक्रमणमा परेको छ । राजनितीक पार्टीबाट नियुक्त हुने अस्पताल विकास समिति र मेडिकल सुपरिटेण्डन छोटो समय अस्पतालमा हुने र अर्को परिर्वतन हुने भएकाले विकास समितिमा आएकाले पनि राम्रो संग काम गर्न नसक्दा अस्पतालको विकासमा ध्यान दिन सकिरहेका छैनन ।

जानकारका अनुसार २०३६ मा अस्पतालका लागि बुटवलवासीले झन्डै १२ बिघा जग्गा छुट्याएका थिए । अस्पतालअगाडि पूर्व– पश्चिम राजमार्गको विस्तार र पछाडि कालिकापथ सडक विस्तारले केही जग्गा लिएको थियो । यसपछि सुकुम्बासी समस्या समाधान आयोगले अस्पतालको हाल भवनभन्दा उत्तर–पश्चिमको केही जग्गा सुकुम्बासीलाई बाँडेको थियो । ती जग्गामा अहिले ठूल्ठूला व्यावसायिक भवन बनिसकेका छन् ।

अस्पताल प्रशासनले विवरण गलत भएको भन्दै पुरानो जग्गामा आफ्नो स्वामित्व हुनुपर्ने दाबी गर्दै आएको थियो । जग्गा अभावकै कारण कमजोर भवनको तलामाथि गत वर्ष ३१ बेडको प्रसूति कक्ष बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्