नेपालमै यस्तो राम्रो छ उपचार : दुर्घटनामा चुँडिएको खुट्टा लिएर हस्पिटल प्रहरी पुग्यो ! होस खुलेपछि हेर्दा चुँडिएको खुट्टालाई जोडेर उपचार गरि हिँड्न सक्ने भएका कमल

लाइट नेपाल डटकम

बिर्तामोड – शिवसताक्षी नगरपालिका–४ का कमलबहादुर राईलाई दुई वर्षअघि घरबाट दमक तर्फ मोटरसाइकलमा जाँदै गर्दा बसले ठक्कर दियो । त्यो दुर्घटनामा उनको देब्रे खुट्टो नै चुँडियो । चुँडिएको खुट्टोसँगै प्रहरीको सहयोगमा उनलाई बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्या‍इयो ।

दुर्घटनामा खुट्टो छिनेपछि अस्पतालमा कमल (दायाँ) , लामो उपचारपछि हिँड्न सक्ने भएका कमल (बायाँ) । तस्बिर: रबिन भट्टराई

घाइते राई र उनको परीवारलाई लागेको थियो चुँडिएको खुट्टा फालेर उपचार हुन्छ, अनि जीवनभर एउटा खुट्टाबिना बाँच्नुपर्छ । तर, बीएन्डसी डाक्टर निराजन पराजुलीले चुँडिएको उनको खुट्टालाई जोड्ने गरी आफ्नो ध्यान लगाएर उपचार सुरु गरे ।

घाइते राईको चार दिनपछि मात्र होस आयो । होस खुलेपछि हेर्दा चुँडिएको खुट्टालाई जोडेर उपचार गरिएको रहेछ । निरन्तरको चिकित्सकीय परामर्शपछि अहिले कमल जोडिएको खुट्टाको सहायतामा सामान्य हिँडडुल गर्न सक्ने भएका छन् । अबको केही दिनमा उनी अझै मजाले हिँड्नसक्ने डाक्टर पराजुलीले बताए ।

‘मैले त सोचेको थिएँ, खुट्टो काटेर जीवनभर एउटा खुट्टाको सहायतामा बाँच्नु पर्छ, तर बीएण्डसी अस्पतालले नयाँ जीवन दियो, एक्दमै खुसी छु’, अस्पतालमा बुधबार पत्रकार संम्मेलन गर्दै राईले भने, ‘समयमा उपचार र सही अस्पताल भेटिए नयाँ जीवन पाइने रहेछ । नयाँ जीवन पाएको अनुभव भएको छ ।’

राईको मात्र होइन, बी एण्ड सी अस्पतालले हालसम्म दशजनाको यस्तै प्रकृतिको जटिल अप्रेशन गरिसकेको छ । ‘कोही हात चुँडिएर, कोही औला चुँडिएर त कोही खुट्टो चुँडाएर अस्पतालमा आइपुग्छन् । अस्पतालले अवस्था हेरेर जोड्ने गर्छौँ’, यस्तो किसिमको अप्रेसन गर्दै आएका डाक्टर निराजन पराजुलीले भनmे, ‘समयमा चुँडिएको अंगसहित ल्याएमा जोडेर उपचार गर्न सहज हुन्छ ।’

हालसम्म १३ जना यस्ता बिरामीको उपचार गर्दा दशजनाको सफल भएको डाक्टर पराजुलिले बताए । उनका अनुसार छिनेको आठ घण्टा भित्र ल्याएमा जोड्न सकिन्छ । खुट्टा नै चुँडिएर काट्नु पर्ने अवस्थामा पुगेकालाई जोडेको घटना झापामा पहिलो भएको बताउँदै पराजुलीले हात र औँला जोडेर मज्जाले काम गरिरहेका नौ जना रहेको बताए ।

‘हाडजोर्नीको कुरा हो चिसोमा दुख्नु स्वभाविक हो, अरु जस्तै नभए पनि खाली चाँहि बस्नु पर्दैन’, अस्पतालका निर्देशक दुर्गा पर्साईले अनुभब सुनाए, ‘जोडिएकाहरु नयाँ जीवन पाएको अनुभव गर्दै खुसी हुन्छन् र अस्पताललाई धन्यवाद दिन्छन् ।’

प्रविधिको जमाना आएको बताउँदै प्रसाईले नेपालकै चिकित्सक यस्तो अप्रेशन गर्न सक्षम रहेको बताए । ‘राम्रा चिकित्सक नेपालमा पनि छन्, तर कतिले गलत स्थानमा उपचार गराउँदा हात खुट्टा काटेर फालिएको छ’, उनले भने, ‘तर हामीले धेरै यस्ता सफल उपचार गरेका छौँ ।’

सडक दुर्घटना, घाँस दाउरा गर्दा र मेसीनमा काम गर्दा हातखुट्टा चुँडिएका घटना अस्पतालमा आउने गरेको उनको भनाई छ । खुट्टा चुँडिएका कमलबहादुरको खुट्टा जोडिएर हिँड्दासम्म करिब पाँच लाख खर्च भएको उनका परिवारले बताएका छन् । ‘पैसो भन्दा खुट्टो जोडिनु ठुलो कुरा हो, त्यसमा खुशी छु’, राईले खुसी हुँदै भने । अन्नपूर्ण पोस्टमा खबर छ

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com