कहाँ छ्यौ तिमी ? नवीना खड्का र प्रभात सुवेदीज्यूको वाचनमा करोडौ नेपालीहरुको मन छुने भिडियो

Tika

धर्मानन्द भट्ट
जन्म : लेकम गाउँपालिका-०२,दार्चुला,नेपाल
शिक्षा : एम एड नेपाली
पेशा : शिक्षक
हाल : काठमाडौं

लेखक : धर्मानन्द भट्ट स्वर (क) नवीना खड्का : कहाँ छ्यौ तिमी ? (ख) प्रभात सुवेदी :१- विडम्बना २-हामी सबै एक हौं र ३- नेपाल जन्मूँ

नेपाल जन्मूँ ( कविता )
धर्मानन्द भट्ट

आमा धन्य तिमी म ठान्छु अहिले पाएर नेपाल यो
आत्मा भन्छ बसी सुखी घरमहा साँच्चै छ आनन्द यो ।
अर्को जन्म शहीद धर्म मनले सोध्दै छ रोज्छौ कता ?
अग्लो माथ जहाँ छ बुद्ध धरती नेपाल जन्मूँ मता ।।

औधी शान्ति गुफा छ व्यास ऋषिको नेपाल हाम्रै घर
आत्मा शान्ति र पाइदैन ममता टाढा लुकेमा पर ।
भेट्दैनौ कहिले नि कान्ति मनमा नेपाल छोडी उता
भेट्ने शान्ति भए भनूँ सब जना नेपाल जन्मूँ मता ।।

नेपाली हिमशैलको पवनले हम्की तराई मुख
जाडाेमा तल गै हिमाल जहिले ताप्दै छ आफ्नो सुख ।
नेपाली सब काख स्वर्ग छ भनी नेपाल हाँस्दै बता
यो माटो जलले पुनः अब भनून् नेपाल जन्मूँ मता ।

सीताराम घुमी अचेल मिथिला नेपाल हेर्छन् अरे
राराको दहमा मुनामदन औ पूर्खा नि घुम्छन् भरे ।
पंक्षी औ रुखले धरा गगनले साराहरूले यता
भन्दै छन् समले अझै लखनले नेपाल जन्मूँ मता ।।

डाँफे कालजयी हिमाल वनको नेपालमै भैरहोस्
भन्छन् मख्ख परी उनै अरनिको मेरो कला रैरहोस् ।
नैनीताल र काँकडा अब रुँदै टिष्टा कुमाऊ उता
भन्छन् मन्द मुहारले दिनदिनै नेपाल जन्मूँ मता ।।

आमाको तनमा गडे नयन ती छोरा बसी हेर्दिनँ
तिम्रो लाज सही कुनै क्षण मता बस्दैनँ एकै छिन ।
देखी फूल गुराँस भीर वनमा आँखा नलाऊ यता
भन्दै छन् बुझ भीमसेन अहिले नेपाल जन्मूँ मता ।।

हाम्रा धीर ललीत ती अति छिटो जन्मेर पूर्खा अब
बाबा खप्तडको धरा म मनले पुग्नेछु भन्छन् सब ।
अर्को देश खुशी दिने मनमहा पाइन्छ यस्तो कता !
बिन्ती गर्छु जुनीजुनी पनि पुनः नेपाल जन्मूँ मता ।।

छन्द : शार्दूलविक्रीडित
ढाकारा,लेकम गाउँपालिका-०२,दार्चुला
रचना मिति : वि.सं. २०७४/०८/१५ गते ।

हामी सबै एक हौं ( कविता )
धर्मानन्द भट्ट

कोदो फापर दालभात मसिनो जेजे निले तापनि
सेतो उच्च हिमाल आज शिरमा रम्दै बसेमा पनि ।
औधी स्वच्छ यसै खुला भुवनका बुझ्ने सबै जीव हौं
कोही आज कतै घमण्ड नगरी बाँचौं सबै एक हौं ।।

गुम्बा मस्जिद चर्च मन्दिर बुझौं छाप्रोहरू भिन्न हुन्
ब्रह्मा बिष्णु र बुद्ध औ यशु यहाँ बस्ने तिनै देव हुन् ।
आफ्नै धर्म मिठो छ संकृति झनै यो फूलका खात हौं
हाम्रो नाम छ भिन्न नै तर बुझौं मान्छे सबै एक हौं ।।

हुन् मङ्गोल किरात आर्य खस झन् कामी दमाई पनि
यो जम्मै घरका दिदी र बहिनी हौं दाजु हामी अनि ।
भाषा भेषभुषा नि भिन्न छ यहाँ छौं एकता सान हौं
पश्चिम् पूर्व जता बसे पनि सबै हामी सबै एक हौं ।।

भारापर्म गरी मिली अब बसूँ त्यागेर हिंसा सब
जम्मै एक बुझे खुला हृदयले बढ्नेछ माया तब ।
घुम्ने मात्र धरा मिठो पवनझैं सोचौं झुटो चेक हौं
त्यागौं है रिसराग दूर सबले सोचौं सबै एक हौं ।।

पैसा हैन धनी गरीब अहिले छुट्ट्याउने साधन
स्वार्थी नेत्र यहाँ विभेद जनमा निम्त्याउने हो मन ।
मर्दा भोलि सबै जली तनहरू जाने उही धाम हौं
रातो मात्र बगे नसा रगत नै सोच्नू सबै एक हौं ।।

नेपाली सब भन्न खातिर उठे हामी सबै एक हौं
जम्मै जात र भात एक मनले भिन्नै नभै एक हौं ।
भन्छन् यी बबुरा विभेद नगरौं त्यै कोखका पुत्र हौं
बिन्ती बा र मुमा म राख मनमा हामी सबै एक हौं ।।

छन्द : शार्दूलविक्रीडित
ढाकारा,लेकम गाउँपालिका-०२,दार्चुला
रचना मिति : वि.सं. २०७४/०८/२२ गते ।

बिडम्बना ( कविता )
धर्मानन्द भट्ट

ऐलेको युग चाहिदैन प्रतिभा नाङ्गो भए भैगयो
देखादेख भयो सनातन कला ऐले कहाँ गैगयो ।
हिन्दू राज्य थियो बुबा बखतमा त्यो छैन ऐले किन ?
यस्तै चाल रहे कुटी डलरमा बेचिन्छ एकै छिन ।।

आफ्नो धर्म,कला र संस्कृति यहाँ बिर्सन्छ मान्छे तर
ह्याप्पी कृस्मसमा अझै प्रणयमा हुन्छन् खुशी यी घर ।
खानामा मसिनो जिरा,मनसुली पोसाक पात्लो अति
सेल्फी पोष्ट हुने अहो समय यो कस्तो भयो दुर्गति ।।

बाबासाथ बसी रमूँ मन भए काट्छ्न् कुरा जो जन
ती आत्मा सबले भुले अब मुमा औ देश,आफ्नोपन ।
नेपाली शिरमा सफेद पहिले हुन्थे पछ्यौरा सधैं
ऐले सिन्दुरको धुलो सब जना फाल्दै छ स्वामी छँदै ।।

कोही छन् सब अस्मिता रहरले बेच्ने यहाँ सज्जन
कोही शोषणमा छ मस्त किन हो साँच्चै दुखाई मन ।
आफ्नो देश बसी विदेश ममता भर्छन् गला फूलले
आमा चट्ट भुली यिनै पर कता खोज्छन् खुशी भूलले ।।

पुग्दा यौवनमा सुगन्ध तनमा वर्षिन्छ छाडा भई
मौरीको ममता त्यसै बखतमा फैलिन्छ गाढा भई ।
खाई मासु सधै घमण्ड मनले गर्जिन्छ सानो मृग
पूरा राज गरी उदण्ड छ अझै लोभी उसैका दृग ।।

रचना मिति : वि.सं. २०७४/०९/१० गते बिहान
शार्दूलविक्रीडित

कहाँ छ्यौ तिमी ? ( कविता )
धर्मानन्द भट्ट

छुट्टै धार थियो हतार न कुनै मेरो र तिम्रो हिजो
हाम्रो संगमले कुनै पल कसै कैले न गर्थ्यो झिजो ।
छोटो साथ दिई सफा तरहले मेरा भगायौ व्यथा
मेरो साथ छँदा खुशी मन थियो गाएर तिम्रै कथा ।।

छुट्दा रुन्छ धरा बुझेर मनले हाँस्दै छुटेकी थियौ
आँखा आँसु भरी बिछोडपछि झन् नाँच्दै जुटेकी थियौ ।
डोरी टुट्छ भने मुनामदनको भन्थ्यौ तिमी गान हौं
बोल्दा उच्च हिमालको शिरजसै साँच्चै दुबै सान हौं ।।

माया प्याट्ट फुट्याे अचम्म म भएँ देखावटी प्यारले
हाम्रा आज सबै मिठा र नमिठा अग्ला कहानी ढले ।
मेरो आज यता दिमाग घरमा घुम्दै छ तिम्रो रुप
त्यस्ता बात भुली अचेल कसरी बस्छ्यौ तिमी खै चुप ?

छाती दुख्छ चसक्क आज मनको सोच्दा बितेका पल
राम्रो बोट थियौ छँदा त कलिली यस्तो दियौ के फल ?
अर्को ठाउँ गएँ तिमी बस भनी छोडी मलाई गयौ
लाग्थ्यो प्राण तिमी खुशी अझ बढी जम्मै खरानी भयौ ।।

भेट्ने आश अझै छ है बुझ तिमी बस्छ्यौ कहाँ लौ भन ?
राधा, कृष्ण विछोडमा अलि कतै दुख्दैन तिम्रो मन ?
कस्ता छन् दिन आज ए पृयतमा तिम्रा बसेका घर ?
बस्दा आज त्यता कथा विगतको झन् याद आउन्न र ?

आई याद खुबै धरा गगनमा खोज्दै छु मैले अब
आत्मा,ईन्टरनेट औ युट्युबका पानाहरूमा सब ।
टाढा देश अमेरिका तक पुगी केही नमानी धक
भेटै हुन्न भने म पागल बनी बाँच्नेछु है छन्तक ।।

तिम्रो पर्वत देशका सब डुलें काला कुना कन्दरा
झन् आनन्द दिने त्यहाँ महलको पुग्दै छु तिम्रै धरा ।
मेरो याद भुली हरेक क्षणमा हाँस्नू जहाँ छ्यौ तिमी
लाएँ एक सबै र भेटिनँ कतै ऐले कहाँ छ्यौ तिमी ?

२०७४/१०/०६ गते
छन्द : शार्दूलविक्रीडित
ढाकारा,लेकम गाउँपालिका-०२,दार्चुला ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com