Light Nepal

बालकृष्ण ढुङ्गेलको मर्मस्पर्शी कविता

तिमिले
गोडाफाट भन्यौं मैले गोडा फाटे
सतर्क भन्यौं म सतर्क बने
अगाडि बढ भन्यौं ,म अगाडि बढे
पछाडि हट भन्यौं म पछाडी हटे
सर्ट्फिकेट फाल भन्यौं मैले फाले
दस्ताबेज पढ भन्यौं मैले पढे
इतिहास पढ भन्यौं मैले पढे
समाज पढ भन्यौं मैले पढे
अरु कत्ती कुराहरू तिमिले नभन्दा पनि पढेँ
तिमिले बन्दुक बोक भन्यौं मैले बोके
कैयौं कुइन्टल भारी पनि बोकेँ
सहयोद्धाका अमर शरीर बोके
घाइते शरीर बोके
रक्तिम सन्देश बोके
बोक्न त आजाद हरुका प्यार पनि बोके
जल्लाद हरुका काला कर्तुत पनि बोके

घर भनिएन
सम्पत्ति भनिएन
बा आमा भनिएन
प्रियसी भनिएन
पढाई भनिएन
केवल भनियो त परिवर्तन
हिडिँयो त मृत्युलाई हत्केलामा राखेर
भत्काइयो दुश्मनको जिल्ला
बनाइयो आफ्नै लाल किल्ला
जलाइयो बुर्जुवा किताबका पाना पाना
बनाइयो सामन्तिलाई निशाना

तिमीसँग आदेश दिन सक्ने क्षमता थियो
म सँग पनि त तिम्रो आदेश मान्ने क्षमता त थियो
मैले आदेश पालना गरेकै हु
आफ्नो कर्तव्य निभाएकै हु
भोक भोकै लडेकै हु

त्यति बेला
मेरो अपाङ्ग शरीर पनि तिम्रो लागि अमुल्य थियो
किनकी म भाचिएको हात लिएर
बन्दुक चलाउन सक्थे
खुट्टामा गोलीका डल्ला बोकेर
अहोरात्र लड्न सक्थे

तिमिले बन्दुक रोक भन्ने बेलासम्म पनि
म तिम्रो लागि प्रिय नै थिए
किनकी म तिम्रा लागि सुरक्षा दिन सक्थे
तिमिलाई हर क्षण पहरा दिन सक्थे

तर, जब तिमी
हामी बस्ने परालको गुन्द्री छाडेर
राता कार्पेटमा बस्न थाल्यौं
अनि बिस्तारै मेरो मूल्य तोकिन थाल्यो

जब मूल्य तोकियो
म जस्तै हजारौंलाई हाट बजारमा राखियो
तिमिले पठाएका
कैयौं ग्राहकहरु आए
अङ्ग अङ्ग जाँचँ खुट्टामा गोली बोकेको म
भच्चिएको हात बोकेको म
अयोग्य बने

कमरेड
कुनै बेला त्यही भाच्चिएको मेरो
हात तिम्रा लागि प्यारो थियो होइन ?
गोली लागेको मेरो खुट्टा
तिम्रा लागि तन्दुरुस्त थिए होइन ?
म अमुल्य थिए होइन ?
म योग्य नै थिए होइन ?
तर म आज कसरी अयोग्य भए ?

तिमिले भनेको मोर्चा सम्हालेकै हु
दुश्मन को किल्ला तोडेकै हु
तिमिलाई गुन्द्रीबाट रातो कार्पेटसम्म पुर्याएकै हु
के त्यहा पुर्याउनु मेरो गल्ती थियो रु
मेरो अयोग्यताको कारण तिमी त्यहा पुगेको हौ ?

तिमिले त मेरो योगदानको मापन हुनुपर्छ भन्थ्यौं
तर मेरो चोट ग्रस्त शरीर नापियो
मेरो शरीरको उचाइ नापियो
तौल नापियो
तर खै त तिम्रो उचाई नापिएको रु
खै त तिम्रो तौल नापिएको रु
खै त तिम्रो योग्यता नापिएको रु

केही पनि मापन गर्नै नपर्ने तिमी
योग्य तिमिलाई नै योग्य बनाउन शरीरमा गोली बोक्ने
म कसरी भएँ अगोग्य ?

रचनाकार: बाल कृष्ण ढुंगेल

प्रतिक्रिया दिनुहोस्