नेपाल एयरलाइन्सको काठमाडौं–कोरिया सिधा उडान हप्तामा ३ दिन ! प्रारम्भिक उडान तालिका सार्वजनिक गर्यो

लाइट नेपाल डटकम

काठमाडौं – नेपाल एयरलाइन्सले काठमाडौंबाट दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थलमा हप्तामा तीन उडान गर्ने भएको छ।

खरिदको प्रक्रियामा रहेका एयरबस वाइडबडी विमानबाट उक्त रुटमा उडान गर्ने तयारी गरिरहेको निगमले प्रारम्भिक उडान तालिका सार्वजनिक गरेको छ।

काठमाडौं–इन्चोनमा आइतबार, बुधबार र शुक्रबार त्यस्तै इन्चोन–काठमाडौं सोमबार, बिहीबार र शनिबार उडान गर्ने छ। तर यस्तो उडान यात्रुको चाप हेरि थपघट हुनसक्ने निगमले जनाएको छ।

२०७५ सालको असारसम्म २ वाइडबडी विमान काठमाडौंमा आइसक्ने र त्यहीअनुसार उडानको तयारी अगाडि बढाइएको एयरलाइन्सका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए।

एयरलाइन्सले दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थलबाट हप्ताको तीन दिन उडान गर्ने अनुमति पाएको छ। सोहीअनुसार निगमले उडानका पूर्व तयारीका काम अगाडि बढाएको श्रेष्ठले बताए।

‘हामीले विमान अउनेवित्तकै उडान सुरु गर्नेगरी तयारी अघि बढाएका छौं’ श्रेष्ठले सेतोपाटीसँग भने,‘यसैअनुरुप अहिले इन्चोनमा ग्राउन्ड ह्यान्डलिङको लागि सेवाप्रदायक माग गर्दै टेन्डर गरिसकेका छौं।’

स्ट्यान्डर्ड ग्राउन्ड ह्यान्डलिङ अन्तर्गतको लाइन म्यान्टिनेन्स सेवाको लागि निगमले टेन्डर निकालेको हो।

त्यस्तै निगमले जिएसए नियक्ती प्रक्रिया पनि अगाडि बढाएको छ। कार्यविधि बनाएर छनौटको प्रक्रिया अन्तिम चरणमा रहेको श्रेष्ठको भनाइ छ।
नेपाल एयरलाइन्सले खरिद सम्झौता गरिसकेका दुई विमान निर्माणाधिन रहेका छन्।

२०७५ सालको बैशाखदेखि असारकोबीचमा विमान नेपाल आइपुग्ने छन्। जापान, चीन र अष्ट्रेलियाजस्ता देशमा उडानका योजना बनाएको निगमले पहिलो उडानको तयारी भने सुरु गरिसकेको छ।

पोर्चुगिच कम्पनी हाइफ्लाईले अर्डर गरेका विमान हाल निर्माणधिन रहेका र अप्रिलमा डेलिभरी डेट फिक्स गर्ने श्रेष्ठले जानकारी दिए।

नेपाल एयरलाइन्सले सम्झौता बमोजिम करिब १० अर्ब रुपैयाँ पठाइसकेको छ। कूल २१ अर्ब रुपैयाँ तिर्नुपर्नेमा बाँकी रकम विमान डेलिभरी हुनुभन्दा एकहप्ता अगाडिमात्र बुझाउने छ। श्रोत – सेतो पाटी

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com