Light Nepal

देउवा–पौडलको गुटविरुद्ध कोइराला परिवार, गगन–चन्द्र समूह रिङ ‘आउट’

काठमाडौं, ५  माघ । नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पराजय भोगेकोमा नेताहरूभन्दा कार्यकर्ताहरू चिन्तित छन् । कार्यकर्ताहरूले शीर्ष नेताहरूका कारण कांग्रेसले पराजय भोग्नु परेको आरोप लगाउँदै आएका छन् ।

यस्तो अवस्थामा सभापति शेरबहादुर देउवालाई अप्ठेरो बनाउने गरेर वरिष्ठ नेता रामचन्द्र पौडेलले विभिन्न गतिविधि गरिरहेका छन् । पौडेलले आफू निकटका सबै नेताहरूलाई प्रयोग गरेर देउवाको आलोचना गर्न लगाइ रहेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

पौडेलले पछिल्लो पटक नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीलाई प्रयोग गरेका छन् । शाहीले नौ जना महाधिवेशन प्रतिनिधिहरूलाई जम्मा गरेर संयुक्त विज्ञप्ति जारी गर्नसम्म भ्याएका छन् ।

त्यति मात्रै होइन पौडेलले सभापति देउवालाई पदबाट राजीनामा गराउनका लागि पनि आफू निकटका गुटका नेताहरूलाई उचालिरहेका छन् । पौडेलको गुटमा रहेका युवा नेता प्रदीप पौडेल पनि जानेर होस् वा नजानेर परिचालन भएका छन् । भविष्य भएका युवा नेता पौडेल कांग्रेसका सभापति देउवाविरुद्धको भइरहेका गतिविधिले धेरै संकट निम्ताउन सक्ने विश्लेषण हुन थालेको छ ।

कांग्रेस कमजोर भएको यस्तो अवस्थामा प्रकाशमान सिंहले पनि गुटको राजनीति सुरु गरेका छन् । सिंहले आफ्नो गुटमा चन्द्र भण्डारीलाई प्रवेश निषेध गरेका छन् । सिंहले रामचन्द्र पौडेललाई सहयोग गरेका छन् । पौडेललाई सहयोग गरे पनि सिंहले आफ्नै छुट्टै गुट चलाएका छन् ।

अर्का युवा नेता गगन थापाले पनि अलग गुट चलाउने प्रयास थालेका छन् । तर, गगनलाई कसैले विश्वास गरेका छैनन् । थापा समूहको काम भनेको देउवा, पौडेल, कोइराला र सिंह समूहका नेताहरूको विरोध गर्नु रहेको छ । थापाले विश्वप्रकाश शर्मालाई प्रवक्ता नियुक्त गरेको फिटिक्कै रुचाएका छैनन् । थापाले भित्रभित्रै शर्माको विरोध गर्न लगाइ रहेका छन् । कांग्रेसको प्रवक्ता ताकेका थापा देउवाले नपत्याएपछि चिन्तित हुन पुगेका छन् ।

भण्डारीले पनि देउवा क्याम्प छाडेर अलग गुट चलाइ रहेका छन् । तर, भण्डारीलाई कसैले नपत्याएपछि एक्लिएको स्रोतको भनाइ छ । देउवा, पौडेल र सिंह समूहले भण्डारीलाई गुटमा प्रवेश निषेध गरेका छन् । अहिले सडकमा पुगेका भण्डारीले पौडेल समूहबाट अगाडि बढ्ने सोच बनाएको स्रोतको भनाई छ ।

उता, कांग्रेसलाई गुटैगुट बनाएर कमजोर बनाएको चाल पाएपछि महामन्त्री डा.शशांक कोइराला, डा.शेखर कोइराला र सुजाता कोइरालाले अलग बैठक गरेका छन् । उनीहरूले कांग्रेसलाई बचाउन कुनै पनि गुटमा नलागेर कार्यकर्ताका पक्षमा जाने सहमति गरेका छन् । सुजाताको मण्डिखाटारस्थित निवासमा दिउँसोको खानासहित भएको बैठकमा उनीहरूले देउवा र पौडेल समूहको गुटको राजनीतिलाई अन्त्य गर्ने निर्णय गरेका छन् । त्यसका लागि उनीहरूले विशेष भूमिका खेल्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्