Light Nepal

नारायाणकाजी श्रेष्ठले भने– नेकपा एमाले र माओवादी केन्द्रबीच रणनीतिक र कार्यनीतिक लक्ष्यमा एकरुपता नै पार्टी एकताको प्रमुख आधार

काठमाडौँ, ३० पुस । नेकपा माओवादी केन्द्रका नेता नारायाणकाजी श्रेष्ठले नेकपा एमाले र माओवादी केन्द्रबीच रणनीतिक र कार्यनीतिक लक्ष्यमा एकरुपता नै पार्टी एकताको प्रमुख आधार भएको स्पष्ट पारेका छन् ।

राजधानीमा पुष्पलाल अध्ययन समाजले आयोजना गरेको कम्युनिष्ट पार्टी एकता (रणनीति र कार्यनीति) नामक अन्र्त्क्रियात्मक कार्यक्रमलाई सम्वोधन गर्दै श्रेष्ठले दुई पार्टीबीच मुल राजनीतिक कार्यनीतिमा एकरुपता रहेको बताएका हुन् ।

नेता श्रेष्ठले संघर्ष तथा बलिदानबाट प्राप्त संविधानको कार्यन्वयन गर्दै शान्तिपूर्ण प्रतिस्पर्धाबाट अघि बढ्नुपर्नेमा जोड दिए । श्रेष्ठले अब बन्ने वामपन्थी सरकारले सामाजिक न्यायसहितको समृद्ध नेपाल बनाउँदै समाजवादको यात्रा तय गर्नुपर्ने बताए। नेता श्रेष्ठले सामन्तवाद विरोधी लोकतान्त्रिक क्रान्ति वामपन्थी दलको नेतृत्वमा सम्भव भएको बताउँदै अबको समृद्धिको यात्रा पनि वामपन्थी दलले गर्ने बताए।

श्रेष्ठले नयाँ संविधान मार्फत नयाँ प्रकारको लोकतन्त्र संस्थागत भएको भन्दै समाजवादउन्मुख समावेशी लोकतन्त्रलाई सफल र सुदृढ बनाउनु अबको प्रमुख उद्देश्य रहेको बताए।

प्रतिक्रिया दिनुहोस्