एमाले-माओवादी एकतामा अनेक अड्चन, एकतापछि पनि विभाजनको खतरा ! यस्तो छ कारण

लाइट नेपाल डटकम

गत मङ्सिरमा आमनिर्वाचन सम्पन्न हुनुअघि ‘प्रेमी–प्रेमिकाको स्तरमा एक भएका’ नेकपा एमाले र माओवादीबीच अहिले पार्टी एकीकरण हुन निकै सकस परिरहेको छ । केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति र सभामुख पद चाहिने र पार्टी एकता गर्न आफूलाई ‘अध्यक्ष’ बनाउनुपर्ने सर्त मााओवादी अध्यक्ष प्रचण्डले राखेपछि वाम गठबन्धनका रूपमा मोर्चाबद्ध भएको एमाले–माओवादी एउटै पार्टीमा रूपान्तरित हुन कठिन भइरहेको हो । एमालेमा केपी ओलीमाथि भइरहेका दबाब र प्रचण्डलाई ‘अर्कोतिरबाट’ प्राप्त ‘अफर’लाई मात्र आधार बनाइयो भने अब यी दुई पार्टीबीच एकता हुने विश्वास गर्न सकिँदैन ।

केपी ओलीमाथि पार्टी अध्यक्ष पद सम्पूर्ण रूपमा नछोड्न दबाब परिरहेको छ भने प्रचण्डलाई पाँच वर्षसम्म प्रधानमन्त्री बनाइराखिने प्रस्ताव ‘अर्कोतिरबाट’ गएको छ । यतिखेर प्रचण्ड जतापट्टि फर्किए पनि लाभ पाउने स्थितिमा छन्, तर केपी ओली भने अलिक अप्ठ्यारोमा परेको देखिँदै छन् । प्रचण्डको हातमा सम्पूर्ण पार्टी सुम्पिँदा त्यसले भविष्यमा पार्न सक्ने अप्ठ्याराप्रति केपी ओली सचेत देखिएका छन् । माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलगायतका नेताहरूले प्रचण्डप्रति दर्शाएको ‘हमदर्दी’ले ओलीलाई झनै झस्काएको छ ।

प्रचण्डलाई पार्टीको कार्यकारी प्रमुख बनाएर आफू प्रधानमन्त्री बनेको अवस्थामा प्रचण्ड, माधव नेपाल, झलनाथ र वामदेव गौतमलगायतले सरकार प्रमुखको रूपमा काम गर्न अनेकौँ अड्चन पैदा गर्न सक्ने सम्भावना पनि ओलीले देखेको बताइन्छ । अहिले माधव नेपाल र उनका समर्थकहरूले कसरी एकता गर्न सकिन्छ भन्ने धारणा खुलेर प्रकट गरिरहेका छैनन् । प्रचण्ड अध्यक्ष पद नपाईकन एकता नगर्ने पक्षमा रहेको र केपीलाई पद हस्तान्तरण गर्न दबाब दिँदा अन्यथा अर्थ लाग्ने भएकोले पनि माधव समर्थकहरूले मौनता कायम राखेका हुन् । तर, पार्टी एकता भइसकेपछि भने माधव नेपाल र उनका समर्थकहरू आक्रामक ढङ्गले सक्रिय हुन सक्ने सङ्केतहरू देखिएका छन् ।

आफ्नो हातबाट पार्टी नेतृत्व जाने र सरकार प्रमुखको रूपमा पनि राम्रोसँग काम गर्न नपाइने स्थिति बन्यो भने त्यस्तो अवस्थामा आफू सकसमा पर्न सक्नेतर्फ ओली सचेत रहेको उनका निकटवर्तीहरूको भनाइ छ । उता प्रचण्डमा भने एकपटक पार्टी एकता भएर आफू कार्यकारी प्रमुख बनियो भने उक्त पार्टीलाई स्थायी रूपले आफ्नो अनुकूल बनाउन सकिने विश्वास भएको बुझिन्छ । प्रतिकूलतालाई आफूअनुकूल बनाउन सक्ने क्षमता प्रचण्डमा रहेको सबैले बुझेका छन् । ज्ञातव्य छ, प्रचण्डलाई विधि र प्रक्रियाअनुरूप चल्ने नेताका रूपमा बुझिँदैन ।

‘वन म्यान शो’मा उनको विश्वास र व्यवहार छ र एमालेको नेतृत्व हात पार्न सफल भएमा त्यहीँभित्र नेताहरूबीच खेलेर उनले एमालेका नेताहरूलाई हायलकायल बनाइरहन सम्भव छ । प्रचण्डको यो सोच र चरित्रलाई केपी ओलीले राम्रोसँग बुझेका हुनाले अध्यक्ष पद प्रचण्डलाई सुम्पन गाह्रो भएको हो । आफ्नै पार्टीका नेताहरूको नियतमा खोट भएको ठानेर नै ओली प्रचण्डलाई पार्टी जिम्मा लगाउन सचेत भएका हुन् । तर, जुन पक्षको नियत जस्तोसुकै भए पनि र जो जति सचेत रहे पनि एकीकरण प्रक्रियाबाट भाग्न सक्ने पक्षमा दुवै पक्षका नेताहरू छैनन् । एकतामा जानैपर्ने या नजाने भए पनि पार्टी एकताका पक्षमा रहेको देखाउनैपर्ने बाध्यता दुवै कम्युनिष्ट पार्टीका नेताहरूमा छ । त्यसैले दुवै पक्ष कर्यादल बनाएर एकता प्रक्रियालाई अघि बढाउन सहमत (कि बाध्य ?) भएका छन् । कार्यदलले पार्टी एकताको मोडल बनाउँदा सरकारको स्वरूप तथा पार्टीको दोस्रो र तेस्रो पुस्ताका नेताहरूको हैसियतसमेत तय गर्ने भएको छ ।

एकता गर्दा मदन भण्डारीद्वारा प्रतिपादित बहुदलीय जनवाद तथा माओवादीले अङ्गीकार गरेको माओवादको अवधारणा परित्याग गरिनुपर्ने आवाज उठेको छ । जब कि अध्यक्ष केपी ओली र एमालेभित्रको ठूलो हिस्सा मदन भण्डारीको विचारबाट पार्टीलाई मुक्त गर्ने पक्षमा छैनन् । चुनाव चिह्नका बारेमा ठूलो विवाद हुने स्थिति देखिएको छैन, सूर्य चिह्न कायम राख्न दुवै पक्ष सहमत हुने सम्भावना प्रबल छ । पार्टीको नामाकरणको विषयमा पनि दुई पक्षबीच माथापच्ची हुने देखिँदैन । नेपाल कम्युनिष्ट पार्टी या एकीकृत कम्युनिष्ट पार्टी नेपाल नामाकरण गर्ने सोच दुवै पक्षका नेताहरूले बनाएका छन् ।

तर, राष्ट्रियतासँग जोडिएका विषयमा कसरी समान धारणा बन्न सक्ला भन्ने प्रश्न भने खडा भएको छ । प्रचण्डहरू बहुराष्ट्र मुलुकको मान्यता राख्छन्, उनीहरूले पहिचानको नाममा जात र क्षेत्रलाई प्राथमिकता दिनुपर्छ भन्ने पक्षको वकालत गर्दै आएका छन् । तर, केपी ओली जातिवाद र क्षत्रीयतावादलाई प्रश्रय दिने पक्षमा छैनन् । ओलीले नेपाल बहुराष्ट्र नभई एकल राष्ट्र मुलुक भएको स्पष्ट गर्दै आएका छन् । त्यसैगरी मधेसकेन्द्रित समूहले उठाउने गरेका मुद्दा र संविधान संशोधनका विषयमा पनि प्रचण्ड र ओलीबीचको मतभिन्नता मेटिइसकेको छैन । सरकारी कामकाजको भाषाका विषयमा समेत प्रचण्ड र ओलीबीच मतैक्य बन्न कठिन छ ।

त्यसैगरी माओवादीद्वारा विगतमा सञ्चालित हिंसात्मक युद्धलाई एमालेको इतिहाससँग कसरी जोड्ने भन्ने समस्या पनि रहेको छ । यसप्रकारका जटिल विषयमा समान धारणा नबनाईकन हुने पार्टी एकता दिगो हुन मुस्किल हुन्छ, समान धारणा तत्काल बन्न सम्भव देखिएको छैन । यसबाहेक एमाले र माओवादीका कार्यकर्ताहरूको सोच, संस्कार र शैलीमा पनि अन्तर देखिन्छ । दुई पक्षको सांस्कारिक घुलन हुन निकै मुस्किल पर्ने अनुमान गर्न सकिन्छ ।

उल्लिखित जटिलताहरूका बीच एमाले र माओवादीका नेताहरू एकीकृत पार्टी निर्माण गर्न कस्सिएका छन्, तर कदाचित पार्टी एकता भयो भने उक्त पार्टीभित्र स्थायी विभाजन र विवादको रेखा कायम रहन सक्ने देखिएको छ । घटना र विचार डटकममा खबर छ

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com