Light Nepal

फुटबल खेल हेर्न साउदी अरेबियाका महिला पहिलो पटक रंगशालमा

काठमाडौं, २९ पुस । साउदी अरेबियाले महिलालाई पहिलो पटक फुटबल खेलको दर्शकदीर्घा (प्याराफिट) मा बस्न दिएको छ । महिलामाथि कडा नियम लागु रहेको परम्परावादी मुस्लिम देश साउदी अरेबियामा शुक्रबार पहिलो पटक फुटबल खेलको दर्शकदीर्घामा महिलालाई बस्न दिइएको हो ।

शुक्रबार जेद्धाह शहरमा रहेको रंगशालमा भएको फुटबल खेल हेर्न महिलाहरु परिवारसहित आएका थिए । उनीहरुलाई रंगशालामा परिवारका सदस्यसँगै राखिएको थियो । साउदी अरेबियामा दशकौँदेखि महिलालाई रंगशालमा गएर फुटबलसहितका खेल हेर्न प्रतिबन्ध रहेको थियो ।

तर युवराज मोहम्मद विनको सुधार योजना अन्तर्गत बिस्तारै परिवर्तन हुन थालेको छ । यो महिना समग्रमा तीन खेलमा महिलालाई रंगशालमा गएर हर्ने दिइने छ । यस्तै युवराज मोहम्मद बिनको योजना अनुसार नै महिलालाई गाडी चलाउन नपाउने गरी लागेको प्रतिबन्ध पनि फुकुवा भएको छ ।

आउँदो जुन महिनादेखि महिलाले गाडी चलाउन थाल्ने छन् । यस्तै शुक्रबार नै महिलाका लागि मात्रै कार स्वरुम खुलेको छ । शुक्रबार स्थानीय क्लबबिचको खेल हेर्न आएका महिलालाई रंगशालमा खटिएका महिला कर्मचारीले नै भित्र छिराएका थिए ।

प्रतिक्रिया दिनुहोस्