Light Nepal

संसारकै सबैभन्दा राम्रो अक्षर लेख्न सक्ने नेपालकी शान प्रकृति मल्ल सम्मान स्वरुप १ शेयर गर्नुहोस्

काठमाडौं – नौ वर्षमै प्रकृति मल्ल कक्षा ५ मा पढ्थिन्, त्यही कक्षामा छँदा मल्लको हातमा एउटा कापी पर्यो ! आफू पढ्ने विद्यालयकै माथिल्लो कक्षामा पढ्ने दाजु, अभिषेक लोप्चनको ।

कक्षाका अरु विद्यार्थीको तुलनामा छोरीको पनि हस्तलेखन अब्बल भएकोले बुवा प्रल्हादकुमारले लोप्चनको कापी प्रकृतिलाई देखाउनकै लागि घरमा ल्याएका थिए ।

‘कापी हातमा पर्ने बित्तिक्कै म त एकछिन केही बोल्नै सकिन ।’ तीन वर्षअघिको त्यो क्षण सम्झँदै १२ वर्षीया मल्लले भनिन्, ‘मैले कापी ओल्टाइपल्टाइ गरेँ, यस्तो अनविलिएवल (अविश्सनीय) अक्षर पनि लेख्न सकिने रहेछ भन्ने लाग्यो ।’ त्यही ‘अनविलियवल’ अक्षर देखेर निक्कै उत्साहित भइन् उनी ।

‘त्यही बेलादेखि म पनि ‘अनविलिएवल’ अक्षर लेख्छु भनेर लागेँ’, उनले त्यो बेला मनभित्रैबाट गरेको प्रतिवद्धता फुकाइन् । त्यही प्रतिवद्धताअनुसार उनले दैनिक अभ्यास गरिन् । भक्तपुरको सैनिक स्कुलको कक्षा ८ की छात्राको परिणाम निस्कियो, अक्षर हेरेर सबैबाट प्रतिक्रिया पाए, ‘अनविलिएबल ह्याण्डराइटिङ’ ।

कुनै टाइपिष्टले टाइप गरेको जस्तो, एकनासे अक्षरका दानाहरु, कुनै केरमेट नगरीएको सफा, हेर्दैमा चित्ताकर्षक, लोभलाग्दो अक्षर ! भ्यालीवाइड इन्टर स्कुल ह्याण्डराइटिङ कण्टेष्टमा उत्कृष्ट भएपछि उनको ह्याण्डराइटिङ सामाजिक सञ्जालमा भाईरल बन्यो ।

फेसबुक र ट्विटरमा छ्याप्छ्याप्ति भएको त्यो ह्याण्डराइटिङ हजारौंको संख्यामा शेयर भएको छ, लाखौं लाईक, कमेण्ट र ट्विट भएका छन् । उनको अक्षर देखेर सामाजिक सञ्जालमा कमेण्टहरु ‘छक्क’ परेका छन् । ‘वाह !’ भनेका धेरैको अर्को पनि प्रतिक्रिया छ, ‘गड गिफ्टेड ह्याण्डराइटिङ !’

कसरी सम्भव भयो ?

आजभन्दा भोलि, भोलिभन्दा पर्सी अर्थात् दिन दुगुणा रात चौगुणाको दरले ह्यान्डराइटिङ राम्रो हुँदै गएपछि उनीप्रति धेरै शिक्षकहरुको ध्यान गयो । शिक्षकहरुले कक्षामै र स्कुलमै प्रकृतिको ह्याण्डराइटिङको खुलेरै प्रशंसा गर्न थाले । ‘कापी देख्ने बित्तिक्कै मैले पनि त्यो कापीको भन्दा राम्रो ह्याण्डराइटिङ लेख्नुपर्छ भन्ने सोच बनाएर नियमित अभ्यास गरेँ ।

अक्षर कसरी राम्रो बनाउने भन्ने कुरामा ध्यान दिएँ । दिनकै म एकदुई पेज त ह्यान्डराइटिङ लेख्नतिर नै समय दिएँ ।’ उनले सफलताको रहस्य बताइन् । ‘मुख्य कुरा अभ्यास नै हो, अभ्यासले असम्भवलाई पनि सम्भव बनाउँछ ।’ अक्षर राम्रो बनाउन भित्रैदेखि लागेका उनलाई राम्रो ह्याण्डराइटिङ लेख्नु पनि एक प्रकारको सीप र कला हो भन्ने लाग्यो हो ।

त्यही कारण उनले राम्रा ह्याण्डराइटिङका नमूनाहरु संकलन गरिन् । राम्रो अक्षर कसरी लेखिँदो रहेछ भनेर अक्षरमै घोत्लिइन् । ‘इन्टरनेटमा कुन अक्षरको सेप कस्तो ? हुने रहेछ भनेर आफै पनि खोज्न थालेँ ’ उनले भनिन्, ‘सँधै रुटिनै बनाएर ह्याण्डराइटिङ गरेँ ।

राम्रो, आर्कषक अक्षर लेखिएको पढ्न पाए पाठकलाई मात्र नभएर लेख्नेलाई झन् भित्री मनदेखि आनन्द मिल्ने बताउने उनको हस्तलेखनलाई ‘क्यालिग्राफी’ ले अझ उत्कृष्ट अक्षर बनाउन सघाउ पु¥यायो । कक्षा ६ सकिएको तर कक्षा ७ नपुगेको शैक्षिक सत्रको संघारतिर उनले क्यालिग्राफीका शिक्षक गोविन्द ओलीयाबाट सिक्ने अवसर पाइन् ।

राम्रो अक्षर अझ कसरी राम्रो लेख्ने ? विषयमा भएको तीनदिने तालिमले उनको लेखन शैली र सीपमा निखार भरियो । ‘क्रमशः अक्षरमा थप सुधार आउन थालेपछि पुरानो कपी हेरेर पनि मैले यो अक्षरलाई यसरी सुधार गर्नुपर्छ भनेर लागेँ ।’ त्यसपछि पनि उनले मिहिनेत र अभ्यासलाई पछ्याइ रहिन् ।

त्यतिमात्र होइन उनको अक्षर राम्रो बनाउने अभियानमा उनका बुवा आमा र शिक्षकहरुको साथ, सल्लाह, सहयोग र उत्साह पनि उत्तिक्कै रह्यो । ‘अक्षर राम्रो हुनुमा उनको आमा (शान्ति) को पनि भूमिका छ, आमाले उनलाई सानै बेलादेखि नै राम्रो अक्षर लेख्नका लागि प्रेरणा दिइरन्थिन्, होमवर्क गर्दा पनि अघि नै बसेर एउटा अक्षर मिलेन भने पनि आफैले इरेजरले मेटिदिएर किताबमा भएको जस्तै अक्षर नभएसम्म लेखाउनुहुन्थ्यो ।’ बुवा प्रल्हादले ‘फोरलाइन’ (इंग्लिश) कपीमा गरेको अभ्यास सम्झे ।

सचेत भएर (सिन्सियर्ली) र सबै गृहकार्य गर्ने विद्यार्थीको अक्षर अन्यको तुलनामा उत्कृष्ट हुने गरेको शिक्षक समेत रहेका प्रल्हादको बुझाइ हो यो, जसकारण उनी छोरीको लेखाइप्रति निक्कै ध्यान दिन्छन् । ‘उनले लेख्ने कापीमा अलिकति पनि कुचिएको देखेँ भने पनि म त्यो भन्दा पनि राम्रो र गुणस्तरको कापी पाइन्छ कि, पेन्सिल, सार्पनर, इरेजर पाइन्छ कि भनेर खोज्छु, सबै स्रोत जुटाइ दिएपछि अब कसरी राम्ररी सिकाउन सकिन्छ भन्नेमा ध्यान जान्छ ।’ उनको भनाइ छ ।

उत्कृष्ट अक्षर लेखनमा सफलता पाएकी प्रकृति भने इतिहासलाई ब्रेक गर्न चाहन्छिन् । ‘सबै डाक्टरहरु नबुझिने अक्षर लेख्छन्, तर म भने सबैले बुझिने अक्षर लेख्छु ।’ उनले थपिन् । भविष्यमा मेडिकल डाक्टर बन्ने लक्ष्य बोकेकी उनको औपचारिक कक्षा बनेपाको बालबाटिकाबाट सुरु भएको हो ।

स्थायी घर धनकुटा निगाले भए पनि पढाइ र रोेजगारको सिलसिलामा मल्ल परिवार अहिले भक्तपुरमा बस्छ । ह्याण्डराइटिङ लेख्दा माथिल्लो भाग थोरै मसिनो र तल्लो भाग माथिल्लो भागभन्दा केही मोटो हुँदा राम्रो देखिँदो रहेछ । उनको अनुभव छ । उनका अनुसार शिक्षक र विद्यार्थीले लेखिरहेको अक्षरको तारिफ गरेको खण्डमा नराम्रो अक्षर भए पनि गाली गरेर होइन, सम्झाउनुपर्छ ।

साभार-एजुकेसन डट कम बाट

प्रतिक्रिया दिनुहोस्