Light Nepal

एनआरएनए इजरायलको पत्रकार सम्मेलन , इजरायलमा नेपालीबाट ठगिने नेपालीलाई सहयोग गर्ने प्रतिबद्धता

सुर्य बस्याल ,इजरायल – गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलले आफ्नो दुई वर्षे कार्यकालमा गर्ने कार्ययोजनाका विषयमा जानकारी गराएको छ । इजरायलको तेलअभिभमा शुक्रवार सांझ पत्रकार सम्मेलनको आयोजना गरी परिषदले आफ्नो कार्यकाल सुरु भएपछिको कार्ययोजना सार्वजनिक गरेको हो ।

परिषदले आगामी नेपाली नयां वर्षमा आयोजना गर्ने विशेष कार्यक्रम नेपाली नयाँ बर्ष नेपाल आइडल साङितिक साँझ का विषयमा जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी कार्ययोजनाका विषयमा पनि प्रष्ट पारेको हो । पत्रकार सम्मेलनमा परिषदका महासचिव तेन्जीगं शेर्पाले नेपाली नयां वर्षमा आयोजना गरिने कार्यक्रममा नेपाल आइडलका मुख्य तीन जना कलाकार र कार्यक्रम संचालक अप्रिलको दोस्रो साता इजरायल आइपुग्ने बताए । सो कार्यक्रमका लागि नेपाल आइडल बुद्ध लामा सहित अन्य कलाकार निशान भट्टराई र प्रताप दास इजरायल आइपुग्ने भएका छन् ।कलाकारसंगै कार्यक्रम संचालक शुसिल नेपाल पनि आउने छन् । उनले सो कार्यक्रमलाई सफल बनाउन इजरायलमा रहेका सबै सामाजिक संस्था, पत्रकार लगायत इजरायलमा बस्ने नेपालीहरुलाई सहयोगका लागि अपिल गरे । इजरायलमा कम्तिमा ४५ वटा सामाजिक, राजनीतिक, धार्मीक र जातिय संघसंस्था छन् । ति सबै संघसंस्थाले नेपाली चाडपर्व लगायत विशेष अवसरमा कार्यक्रमहरु गर्दै आएका छन् । कार्यक्रमका क्रममा एक अर्का संस्था प्रति समन्वय हुन नसक्दा कार्यक्रम चाहे जस्तो सफल हुन सकेको छैन ।

यस्तो अवस्थामा एनआरएन इजरायलले आयोजना गर्न लागेको नयां वर्षको कार्यक्रमलाई पनि इजरायलमा बस्ने नेपालीहरुले बढो चासोका साथ हेरेका छन् । पत्रकार सम्मेलनमा सहभागी भएकाहरुले वितेका वर्षहरुमा भएजस्तो कमजोरी हुन नदिन एनआरएनले गरेका योजनाका विषयमा चासो राखेका थिए । त्यसको जवाफमा महासचिव शेर्पाले आगामी दिनमा त्यस्तो कमजोरी हुन नदिन कार्यक्रम समेटिएको वार्षिक क्यालेण्डर तयार गर्न लागेको जानकारी दिए ।

“कुन कार्यक्रम कुन संस्थासंग मिलेर गर्ने त्यो पनि उल्लेख गर्ने योजना छ, शेर्पाले भने परिषदमा भएका साथीहरुलाई त्यसको जिम्मेवारी समेत बांडफांड गरिसकिएको छ ।” उनले नेपाली नयां वर्षमा आयोजना गर्ने कार्यक्रमका लागि नेपाल आइडलका कलाकारहरुलाई अप्रिल १३ मा इजरायल पुगीसक्ने जानकारी दिए । उनले त्यसका लागि इजराजयमा रहेका विभिन्न संघसंस्थासंग समन्वय गर्ने बताएका छन् । पत्रकार सम्मेलनमा कार्यक्रम सफल बनाउन मिडिया पार्टनरलाई प्रचारप्रचारमा सहयोग गर्न समेत अपिल गरे । लाइट नेपाल पनि परिषदको मिडिया पार्टनरका रुपमा रहेको छ । नयां वर्षको सो कार्यक्रमको उद्येश्य आपतकालिन अक्षयकोष स्थापना गर्ने हो, जसवाट इजरायलमा पुगेर विभिन्न समस्यामा परेकाहरुलाई सहयोग गर्ने गरिन्छ ।

यो वर्षकोे कार्यक्रम पनि त्यसैको निरन्तरता रहेको महासचिव शेर्पाले बताए । परिषदले इजरायलमा बस्ने नेपालीहरुलाई समेटेर विभिन्न कार्यक्रम गर्दै आएको छ । खेलकुद, साहित्य लगायतका क्षेत्रमा पनि काम गर्ने गरेको छ । परिषदले आगामी सेप्टेम्बरको दोस्रो साता नेपाली महिलाको महान पर्व तीज कार्यक्रममा कलाकार पशुपति शर्मालाई निम्त्याउने निर्णय गरेको जनाएको छ । “पशुपति शर्मा लगायत अन्य कलाकार पनि आउने छन्, पत्रकार सम्मेलनमा महासचिव शेर्पाले भने, पशुपति शर्माको विषयमा निर्णय भइसकेको छ । अन्य कलाकारको अहिले टुंगो लागेको छैन ।” उनले दशैं र तिहारलाई मध्यनजर राखेर समेत विभिन्न कार्यक्रम गर्ने योजना रहेको जानकारी गराए । पत्रकार सम्मेलनमा सचिव निर्मला गुरुगंले धार्मिक विविधता कायम गर्न यो वर्ष एनआरयन इजरायलले बुद्ध जयन्तीमा विशेष कार्यक्रम गर्ने योजना रहेको जानकारी दिइन् । “हामीलाई संधै एउटा गुनासो रह्यो बौद्ध धर्मावलम्बीहरुलाई एनआरएनले हेरेन भन्ने, उनले भनिन् यो वर्ष बौद्ध धर्मगुरु बोलाएर धार्मिक प्रवचनको कार्यक्रम गर्ने निर्णय गरेका छौं ।

” उनले त्यसका लागि सरोकारवाला निकायसंग सहकार्यका लागि कुराकानी भइसकेको जानकारी दिइन् । परिषदले नेपालको पर्यटन प्रवर्धनको लागि महत्वपुर्ण कार्यक्रम गर्ने योजना बनाएको छ । तर त्यसको निक्र्यौल भने भइसकेको छैन । एनआरएन इजरायल आगामी २०१९ को एनआरएन युरोपियन रिजनल कन्फ्रेन्सको प्रमुख दावेदार हो । महासचिव शेर्पाले १२ औं एनआरएन युरोपियन रिजनल कन्फ्रेन्सको लागि आफुहरुले प्रस्ताव गरेको जानकारी दिए । “पोल्याण्डल र स्पेनले पनि मागेका छन् । इजरायल शसक्त दावेदार हो” उनले भने । पत्रकार सम्मेलनमा सहभागी भएकाहरुले दशैं तिहार सम्मका कार्यक्रम अहिले नै तय गर्नु महत्वकांक्षि योजना भन्दै आलोचना गरेका थिए । त्यसको जवाफ दिंदै एनआरएन आइसीसी सदस्य दिपक ओलीले कार्यक्रमको क्यालेण्डर र सहकार्य गर्ने संस्थाहरुसंग समन्वय भइसकेकाले समस्या नहुने बताए ।

“अहिले वार्षीक कार्ययोजना बनाएर जिम्मेवारी पनि बांडफांड गरिसकेको उनले भने, कुन कार्यक्रम कुन संस्थासंग मिलेर गर्ने भन्ने विषयमा छलफल गरेर जिम्मेवारी वांडफांड गरीएको छ समस्या हुंदैन ।” उनले वार्षीक कार्ययोजना लिएर दुतावासमा समेत गएका बताए । “एनआरएनले गरेको कार्यक्रममा दुतावासले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ, उनले भने, हामीले सात बुंदे कार्ययोजना लिएर गएका छौं, त्यो सात बुंदामा दुतावासको सहयोगको प्रतिवद्धता पनि समावेश छ ।” दुतावासले इजरायलमा बस्ने नेपालीहरु माथि भएको विभिन्न किसिमका ठगीका घटनामा परिषदले गर्ने निर्णयका आधारमा कारवाही प्रकृया अघि बढाउने प्रतिवद्धता जनाएको छ । “ठगीमा परेकाहरुका विषयमा यथेष्ट प्रमाण सहित एनआरएनले पठाएको कागजपत्रका आधारमा दुतावासले निर्णय गर्ने प्रतिवद्धता जनाएको छ” पत्रकार सम्मेलनमा महासचिव शेर्पाले भने ।

प्रतिक्रिया दिनुहोस्