Light Nepal

नेपाली सेनामा नयाँ कीर्तिमान भित्रियो

काठमाडौँ, २८ पुस – नेपाली सेनाका दिनेश श्रेष्ठले राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत २३ औँ पुरुष तथा आठौँ महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा नयाँ कीर्तिमान कायम गरेका छन् ।
एक सय पाँच केजी तौल समूहअन्तर्गत स्नाचतर्फ १९ वर्षअघिको कीर्तिमानलाई भंग गर्दै आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । यसअघि मदन शिवभक्तिका नाममा उक्त कीर्तिमान थियो । शिवभक्तिले आठौँ साफ गेममा कीर्तिमान कायम गरेका थिए ।

स्नाचतर्फ नेपाल प्रहरीका सन्देश गुरुङले १०० केजीका साथ रजत र बाराका महमद आशिक हुसेनले ८८ केजीका साथ कास्यपदक पाए । त्यसैगरी क्लिन एण्ड जर्क र कुलमा पनि दिनेशले स्वर्ण पदक हासिल गरे ।

उनले क्लिनमा १४० केजी र कुलमा २६१ केजी भार बहन गरे । नेपाल प्रहरीका सन्देशले क्लिनमा १३२ र कुलमा २३२ केजीका साथ रजत र बाराका महमदले क्लिनमा १०५ र कुलमा १९३ केजीका साथ कास्य पाए ।

पोखरा उद्योग वाणिज्य संघको कक्षमा भएको उक्त च्याम्पियनसिपमा सेनाकै पुकार गुरुङले १०५ केजीमाथिको तौलमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्दै स्वर्ण प्राप्त गरे । उनले स्नाचमा सातौँ राष्ट्रिय खेलकुदमा राखेको १२४ केजी तौलमा सुधार गर्दै १२५ केजी भार वहन गरेका हुन् । नेपाल प्रहरीका राजीव महर्जन दोस्रो भए । उनले ९५ केजी भार वहन गरे ।

कञ्चनपुरका सुभाष उपाध्यायले ८७ केजी भारका साथ स्नाचमा कास्य पाए । सेनाका पुकारले क्लिनमा १४० केजी र कुलमा २१५ केजी गरी प्रथम स्थान हात पारे । क्लिनमा कञ्चनपुरका सुभाष उपाध्यायले १२० केजीका साथ रजत पाए । स्नाचमा दोस्रो स्थानमा रहेका प्रहरीका राजीवले क्लिनमा ११८ केजीका साथ कास्य पाए । कुलतर्फ प्रहरीका राजीवले २१३ केजीका साथ रजत र कञ्चनपुरका सुभाष उपाध्यायले २०७ केजीका साथ कास्य पाए ।

त्यस्तै सेनाका सुरेन्द्र श्रेष्ठले ८५ केजी तौलमा स्वर्ण हात पारे । उनले स्नाचमा १०५ र क्लिन एण्ड जर्कमा १२७ केजी गरी कुलमा २३२ केजी भार वहन गरे ।

नेपाल प्रहरीका गगन चन्दले स्नाचमा ९३ र क्लिनमा ११७ केजी गरी कुलमा २१० केजी भार वहन गर्दै रजत पदक पाए । तेस्रो स्थानमा रहेका कञ्चनपुरका विशालसिंह विष्टले स्नाचमा ८५ र क्लिनमा ११५ गरी कुल २०० केजी भार बहन गरे ।

विजयीलाई नेपाल भारोत्तोलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष रतनकुमार टण्डन, राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेललगायतले पुरस्कार प्रदान गर्नुभयो । तीनदिने उक्त प्रतियोगितामा तीन विभागीय टोली तथा १४ जिल्लाका ५९ पुरुष र २४ महिला खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्