Light Nepal

ओली स्मृति साहित्य सम्मान पुरस्कारबाट दाहाललाई रु ५१ हजारको पुरस्कार

भद्रपुर, २७ पुस – लेखनाथ पुस्तकालय, चन्द्रगढी, झापाले १३४ औँ कविशिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीको अवसर पारेर एकजना विद्यार्थीसहित पाँचजना साहित्यिक स्रष्टालाई सम्मानसहित पुरस्कृत गरेको छ ।

झापाको चन्द्रगढीमा बुधबार आयोजित कार्यक्रममा श्रीप्रसाद ओली स्मृति साहित्य सम्मान पुरस्कारबाट साहित्य अनुरागी मित्रप्रसाद दाहाललाई नगद रु ५१ हजार १११ सहित सम्मान गरिएको हो ।

यसैगरी, विभिन्न विधामा उत्कृष्ट स्रष्टालाई उक्त कार्यक्रममा पुरस्कृत तथा सम्मान गरिएको थियो । श्यामकृष्ण कामाक्ष साहित्य सम्मान शान्ता गौतमलाई र वीरेन्द्र मावि, चन्द्रगढीमा कक्षा ९ मा अध्ययनरत छात्रा अनुषा बस्नेतलाई प्रदान गरिएको थियो भने भक्तकिरण साहित्य सम्मानबाट कृष्ण अनमोललाई सम्मानसहित पुरस्कृत गरिएको थियो ।

यसैबीच, जिल्लास्तरीय छन्दोवद्ध कवि सम्मानबाट आनन्दप्रसाद घिमिरेलगायतलाई सम्मानसहित पुरस्कृत गर्दै प्रतियोगितात्मक कविता वाचन कार्यक्रममा विजयी कविलाई समेत नगदसहित प्रशंसापत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको अध्यक्षता तथा प्राज्ञ दधिराज सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपस्थित साहित्यकारले साहित्यिक प्रवचनसमेत प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्