Light Nepal

नेपाली साहित्यको विकासमा शिरोमणी लेखनाथ पौड्यालको योगदान महत्वपूर्ण – राष्ट्रकवि माधवप्रसाद घिमिरे

काठमाडौँ, १५ पुस – राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली भाषा साहित्यको विकासमा कवि शिरोमणी लेखनाथ पौड्यालको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

नेपाली शिक्षा परिषद्ले कवि शिरोमणी लेखनाथ पौड्यालको १३४औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित ‘लेखनाथ प्रतिभा पुरस्कार प्रदान समारोह’मा उहाँले कवि पौड्यालका बारेमा जति व्याख्या गरेपनि कमै हुने बताउनुभयो । “तत्कालीन संस्कृतिका बारेमा आमजनतालाई साहित्यमार्फत चिनाउने व्यक्ति पौड्याल हुनुहुन्छ”, उहाँले भन्नुभयो ।

पशुपति बहुमुखी क्याम्पसका प्रमुख प्रयागराज वशिष्ठले नेपाली कविता क्षेत्रमा कवि शिरोमणी पौड्यालको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

पौड्यालको १९४१ पुुस १५ गते कास्कीको अर्घौं अर्चलेमा जन्म भएर २०२२ सालमा निधन भएको थियो ।

लेखनाथ प्रतिभा पुरस्कार सुवेदीलाई

सो अवसरमा नेपाली शिक्षा परिषद्ले हरेक वर्ष प्रदान गर्ने लेखनाथ प्रतिभा पुरस्कार लक्ष्मी सुवेदीलाई प्रदान गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा उच्च अंक ल्याएर स्नातकोत्तरमा प्रथम स्थान हासिल गरेको भन्दै सुवेदीलाई रु १५ हजार एक नगदसहित सम्मान गरिएको हो ।

उहाँले २०७१ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको पशुपति बहुमुखी क्याम्पसबाट ६८ प्रतिशत ल्याएर प्रथम हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्