Light Nepal

लाजिम्पाट छोडेपछि पहिलो पटकको प्रधानमन्त्री पद गुमाईदिने कटवालकै छिमेकी बन्न पुगे प्रचण्ड

काठमाण्डौ, १ पुष । आफ्ना एक मात्र छोरालाई गुमाउनुपरे पछि बस्दै आएको लाजिम्पाट स्थित घरमा सितालाई बस्न मन लागेन । उनले प्रचण्डसंग काठमाण्डौको लाजिम्पाटमा बस्दै आएको घर छाड्न आग्रह गरिन् ।

सिताको सोही आग्रह अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको परिवार पांचवर्ष देखि बस्दै आएको लाजिम्पाट स्थित घर छोडेर ललितपुरको खुमलटार सरेका छन् ।
बसाई सरेका प्रचण्ड अन्तत नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्माङगद कटवालका छिमेकी बन्न पुगेका छन् ।

प्रचण्ड शुक्रबार साँझ लाजिम्पाटस्थित निवासबाट चक्रपथ बाहिर रहेको ललितपुरको खुमलटारस्थित व्यापारी शारदा अधिकारीको घरमा सरेका हुन् । त्यहां कटवालको घर पनि नजिकै छ । गणतन्त्र पछि पहिलो प्रधानमन्त्री बनेका प्रचण्ड कटवालकै कारण पद त्याग्नुपरेको थियो । त्यसैले अहिले पनि सो घटनाक्रमलाई कटवाल प्रकरण भनेर बुझ्ने गरिन्छ । तत्कालिन प्रचण्ड नेतृत्वको सरकारले आफ्नो आदेश नमानेको अभियोगमा कटवाललाई सैन्य प्रमुखबाट हटाएको थियो ।

काँग्रेस र एमालेको दबाब बढेपछि तत्कालिन राष्ट्रपति रामवरण यादवले कटवालको थमौती गरिदिएका थिए । कटवालको थमौती पछि नैतिकताका आधारमा प्रचण्डले राजीनामा दिएका थिए । तर अहिले प्रचण्ड र कटवाल बिच त्यस्तो तिक्तताको अवस्था भने छैन ।

प्रतिक्रिया दिनुहोस्